एजेन्सी । प्राकृतिक प्रतिभा र कठोर शारीरिक प्रशिक्षणकै कारण लियोनेल मेस्सी विश्वकै सर्वोत्कृष्ट फुटबलर बनेको कुरामा कुनै शङ्का छैन । सन् २०२६ को विश्वकपमा अल्जेरियाविरुद्ध आफ्नो पहिलो विश्वकप ह्याट्रिक गरेर उनले प्रमाणित गरिदिए कि उमेर बढ्दैमा उनको ‘फुटबल म्याजिक’ कम भएको छैन । तर, ३९ वर्षको उमेरमा पनि यो स्तरको प्रदर्शन कसरी सम्भव छ ? यसको पछाडि मेस्सीको कडा खानपान र कसरतको ठूलो हात रहेको अष्ट्रेलियाली मिडिया म्यान अफ मेनीले जनाएको छ ।
सानै उमेरमा ‘ग्रोथ हर्मोन’ को कमी र करियरभर भोगेका कैयौँ गम्भीर चोटहरूलाई परास्त गर्दै मेस्सी आज पनि मैदानमा फिट देखिनुको रहस्य यहाँ उल्लेख गरिएको छ :
मेस्सीको डाइट प्लान : पिज्जा, कोल्डड्रिंक्स र फास्टफुड छाडेर स्वार्थबर्दक खानेकुरा मात्र
युवाकालमा मेस्सी खानपानमा त्यति कडा थिएनन् । उनी पिज्जा, सोडा, फास्ट फुड र अर्जेन्टिनाको विशेष परिकार ‘मिलेनेसा’ (ब्रेडक्रम्बमा मोलेर तारिएको मासु) खान निकै मन पराउँथे । उनी कोकालोला, सोडा जस्ता कोल्ड ड्रिङ्क्स समेत पिउँथे ।
सन् २०१४ मा इटालियन पोषणविद् जुलियानो पोजरसँग काम गर्न थालेपछि मेस्सीको डाइटमा क्रान्तिकारी परिवर्तन आयो । पोजरको डाइट प्लान मुख्यतया पाँचवटा आधारमा टिकेको थियो/छ । पानी, एक्स्ट्रा भर्जिन ओलिभ आयल, होल ग्रेन्स, ताजा फलफूल र ताजा तरकारी पेजरको डाइट प्लानको मुख्य आधार हुन् । यी खानेकुराले मांसपेशीको रिकभरीमा मद्दत गर्छन् ।
मेस्सी चिनी र मैदालाई आफ्नो स्वास्थको सबैभन्दा ठूलो शत्रु मान्छन् । चिनी मांसपेशीका लागि खराब भएका कारण खाँदैनन् । उनले सोडाको सट्टा दक्षिण अमेरिकी विशेष चिया ‘येर्वा माटे’ पिउँछन् ।
अर्जेन्टिनीहरू धेरै मासु खान्छन् । तर मेस्सीले मासु निकै कम खान्छन् । किनकि मासुलाई पचाउन गाह्रो हुन्छ । प्रोटिनको कमी पूर्ति गर्न उनी दिनमा तीन पटकसम्म प्रोटिन शेक पिउँछन् ।
इन्टर मियामीको पोषण टोलीले अहिले उनलाई खेलपछि पास्ता सलाद वा प्रोटिनले भरिपूर्ण ‘सुशी’ खान सल्लाह दिने गरेको छ । मदिरा सेवन उनले पूर्ण रूपमा त्यागेका छन् । सन् २०२२ को विश्वकप जितेपछि खुसियालीमा बियर र स्याम्पेन पिएको तस्बिरहरू सार्वजनिक भएका थिए ।
वर्कआउट रुटिन : शक्तिभन्दा गतिमा जोड
मेस्सीको कसरत क्रिस्टियानो रोनाल्डोको जस्तो जिममा धेरै तौल उठाउने शैलीको छैन। उनको कसरत मुख्यतया तीन कुरामा केन्द्रित हुन्छ-गति, फङ्सनल स्ट्रेन्थ (शक्ति) र स्ट्रेचिङ ।
मेस्सीले हरेक दिन कम्तीमा १ घण्टा स्ट्रेचिङ गर्छन् । यसले उनको मांसपेशीलाई लचिलो बनाएर चोट लाग्ने सम्भावना कम गर्छ । मेस्सीले शरीर फुलाउनुभन्दा पनि मैदानमा ‘विष्फोटक’ गति निकाल्न कसरत गर्छन् । उनले सिधा दौडिने र विभिन्न दिशामा तुरुन्तै मोडिने कसरतहरू गर्छन् ।







