काठमाडौँ– आर्थिक वर्ष २०८३/८४ को बजेटमा राष्ट्रसेवक कर्मचारीको तलब बढाइए पनि सामुदायिक विद्यालयका विद्यालय कर्मचारी र बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) को तलब नबढाइएकामा उनीहरूले असन्तुष्टि जनाएका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलन गरिरहेको छ भने ईसीडी शिक्षकहरू पनि आफ्ना माग सम्बोधन गराउन सक्रिय भएका छन्। संघर्ष समितिकी अध्यक्ष कृष्णकुमारी थापा मगर नेतृत्वको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्ले र शिक्षामन्त्री सस्मित पोखरेललाई भेटेर तलब वृद्धि तथा विगतका सम्झौताहरू कार्यान्वयन गर्न माग गरेको छ।
अर्थमन्त्रीले शिक्षा मन्त्रालयसँग समन्वय गरेर विषयमा छलफल गर्ने बताएका छन् भने शिक्षामन्त्रीले आगामी शिक्षा ऐनमार्फत ईसीडी शिक्षकका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। शिक्षकहरूले २०७५, २०७८ र २०८० सालमा सरकारसँग भएका सहमतिहरू शिक्षा ऐनमा समावेश गर्नुपर्ने माग गरेका छन्।






