काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभाले बैंकको पुँजी आधार थप सुदृढ बनाउन ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा आषाढ मसान्तसम्मको वित्तीय विवरण स्वीकृत गरेको हो।
सभाले हाल कायम चुक्ता पुँजीको आधारमा २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। यसअनुसार हालका सेयरधनीले प्रत्येक दुई कित्ता सेयर बराबर एक कित्ता थप हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्। आवश्यक नियामकीय स्वीकृतिपछि बैंकले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ।
यसअघि नेपाल राष्ट्र बैंकले बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको थियो। बैंकले करिब ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने योजना अघि बढाएको जनाएको छ। हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी उल्लेख्य रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।
साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन भएको छ। संस्थापक समूहबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल चयन भएका छन् भने सर्वसाधारण समूहबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्वाचित भएका छन्।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार साधारण सभाबाट पारित निर्णयहरूले बैंकको दीर्घकालीन रणनीति, पुँजी संरचना सुदृढीकरण तथा व्यवसाय विस्तार योजनालाई थप बल पुर्याउनेछन्।
बैंकले हकप्रद सेयर निष्कासनका लागि अब धितोपत्र बोर्ड (सेबोन) लगायत सम्बन्धित नियामक निकायबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि प्रक्रिया अगाडि बढाइने जनाएको छ।






