सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउने तयारी गरिरहँदा सरकारी कर्मचारी र शिक्षकको तलब वृद्धि हुने विषय अहिले व्यापक चर्चामा छ। चार वर्षदेखि तलब नबढेको अवस्थामा यसपटक भने सरकारले केही न केही वृद्धि गर्ने लगभग निश्चितजस्तै देखिएको छ।
निजामती सेवा ऐनअनुसार तलब–भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, महँगी र दरबन्दीको अवस्थालाई आधार मानेर तलब पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ। यही आधारमा मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा रहेको समितिले सरकारलाई तलब बढाउन सिफारिस गरिसकेको स्रोतको दाबी छ।
यसअघि आर्थिक वर्ष २०७९/०८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी, शिक्षक र सुरक्षाकर्मीको तलब १५ प्रतिशतले वृद्धि गरेका थिए। त्यसपछि लगातार तीन आर्थिक वर्ष तलब वृद्धि भएन।
अहिले शिक्षकको तलब कति छ ?
हाल सरकारी विद्यालयका शिक्षकहरूको आधारभूत मासिक तलब (ग्रेड बाहेक) यस्तो छः
मावि प्रथम श्रेणी : ५६ हजार ७८६ रुपैयाँ
मावि द्वितीय श्रेणी : ४८ हजार ७३७ रुपैयाँ
मावि तृतीय श्रेणी : ४३ हजार ६८९ रुपैयाँ
त्यस्तै,
निमावि प्रथम श्रेणी : ४५ हजार ८६२ रुपैयाँ
निमावि द्वितीय श्रेणी : ४३ हजार ६८९ रुपैयाँ
निमावि तृतीय श्रेणी : ३४ हजार ७३० रुपैयाँ
प्रावितर्फः
प्रथम श्रेणी : ४३ हजार ६८९ रुपैयाँ
द्वितीय श्रेणी : ३४ हजार ७३० रुपैयाँ
तृतीय श्रेणी : ३२ हजार रुपैयाँ
कति प्रतिशत बढ्न सक्छ ?
सरकारले आधिकारिक रूपमा प्रतिशत सार्वजनिक गरिसकेको छैन। तर कर्मचारी वृत्तमा १० देखि १५ प्रतिशतसम्म वृद्धि हुन सक्ने चर्चा छ। यदि १५ प्रतिशतकै हाराहारीमा वृद्धि भयो भने मावि प्रथम श्रेणीका शिक्षकको तलब करिब ६५ हजार रुपैयाँ नाघ्न सक्छ।
शिक्षकहरूले लामो समयदेखि निजामती कर्मचारीसरह सेवा–सुविधा र पारिश्रमिकको माग गर्दै आएका छन्। त्यो माग यसपटक कति सम्बोधन हुन्छ भन्ने कुरा भने जेठ १५ गते अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने बजेट भाषणपछि मात्रै स्पष्ट हुनेछ।





