सभामुखलाई कांग्रेस सचेतकले सोधे: हिजो तपाईंको ‘नीलो स्कार्फ’ मर्यादित, आज प्ले कार्ड कसरी अमर्यादित ?



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित गराई जवाफदेही बनाउन सभामुखसँग रुलिङको माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोज्दा सहयोग नपाएको गुनासो गर्दै संख्याको दम्भ नदेखाउन चेतावनी दिएका हुन् ।

राईले पछिल्ला बैठकहरूमा प्रतिपक्षी दलहरूले सरकारको जवाफदेहिता माग्दै प्लेकार्ड प्रदर्शन गरिरहेको उल्लेख गर्दै त्यसलाई सभामुखले ‘अमर्यादित’ भनेकोप्रति आपत्ति जनाए । उनले विगतमा अहिलेका सत्तारुढ दल स्वयं प्रतिपक्षमा हुँदा संसद्मा वेल घेर्ने, नीलो स्कार्फ बाँध्ने, पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने जस्ता गतिविधि गरेको स्मरण गराए ।

“त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो,” राईले भने, “आफ्नै कदम त्यतिबेला संसदीय मर्यादाभित्र पर्ने, तर अहिले प्रतिपक्षले प्लेकार्ड देखाउँदा अमर्यादित कसरी हुन्छ ? हाम्रो निष्कर्षमा त्यतिबेला पनि गलत थियो, अहिले पनि गलत र अमर्यादित नै हो ।”

उनले सरकार संसद्प्रति उत्तरदायी बन्नुपर्ने संवैधानिक दायित्वबाट भाग्न नहुने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार