काठमाडौं । इरानमा थुनामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने गलत सूचना सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले क्षमायाचना गरेको छ। मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै झा अझै पनि इरानको बन्दर अब्बासस्थित पुर्पक्ष थुनामा रहेको र उनको मुद्दा स्थानीय अदालतमा विचाराधीन रहेको स्पष्ट पारेको छ। यसअघि सार्वजनिक गरिएको रिहाइसम्बन्धी सूचनाले सिर्जना गरेको अन्योलप्रति मन्त्रालयले माफी मागेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका, इजरायल र इरानबीच गत फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुअघि नै, जनवरीको सुरुआतमा झासहित ६ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले क्युसिएम टापुबाट नियन्त्रणमा लिएका थिए।
यसअघि गत अप्रिल १५ मा इरानका लागि नेपाली अवैतनिक वाणिज्यदूत शाहराम सान्तीयले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको र रिहाइपत्र जारी भइसकेको भन्ने अनौपचारिक जानकारी दिएका थिए। उक्त सूचनाकै आधारमा झा रिहा भएको समाचार सार्वजनिक गरिएको थियो।






