५० मेगावाट मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, सम्झौता हस्ताक्षर समारोह काठमाडौंमा सम्पन्न



काठमाडौं । Divyajyoti Hydropower Limited ले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको निर्माणका लागि वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न गरेको छ । यससँगै आयोजना निर्माणले औपचारिक रूपमा तीव्र गति लिने भएको छ ।
कम्पनीका अनुसार उक्त आयोजना गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण हुन लागेको हो । आयोजना बन्दीपुर नगरपालिका र म्याग्दे गाउँपालिकाका विभिन्न क्षेत्रमा फैलिएको छ । वित्तीय सम्झौतामा कम्पनी तथा सहभागी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरिएको हो ।

आयोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको जनाइएको छ । जसमध्ये ७ अर्ब ५० करोड रुपैयाँ Citizens Bank International Limited को नेतृत्वमा रहेको बैंकहरूको सह–वित्तीयकरण (कन्सोर्टियम फाइनान्सिङ) मार्फत व्यवस्थापन गरिनेछ भने बाँकी ३ अर्ब ८० करोड रुपैयाँ कम्पनीको स्वपुँजी लगानीमार्फत जुटाइनेछ ।

कम्पनीले आयोजना निर्माणको आधिकारिक अवधि चार वर्ष निर्धारण गरिएको भए पनि आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको जनाएको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभी उदिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त सबस्टेसन आयोजनाको पावरहाउसबाट करिब आठ किलोमिटर दूरीमा रहेको छ ।

दिव्यज्योति हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणसँग २०७४ सालमै विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेको थियो । साथै, ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागबाट २०७५ सालमा विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरेको जनाएको छ ।

यो आयोजना सम्पन्न भएपछि नेपालको नवीकरणीय ऊर्जा उत्पादन क्षमता वृद्धि हुनुका साथै ऊर्जा सुरक्षा, आन्तरिक विद्युत् उत्पादन र दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार