काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को छैटौं अधिवेशनको पहिलो सत्र चावहिलस्थित इम्पेरियल ब्याङ्केटमा भव्य रूपमा सम्पन्न भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका निजी तथा आवासीय विद्यालयका सञ्चालक, शिक्षक तथा शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न अधिवेशनले शैक्षिक सुधार, संस्थागत एकता तथा आगामी कार्यदिशाका विषयमा महत्वपूर्ण छलफल गरेको हो ।
संघका महासचिव सुदिप काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष राजन श्रेष्ठले गर्नुभएको थियो । अधिवेशनमा शिक्षा क्षेत्रको वर्तमान अवस्था, निजी विद्यालयहरूले भोगिरहेका चुनौती, गुणस्तरीय शिक्षाको आवश्यकता तथा विद्यार्थीमैत्री वातावरण निर्माणका विषयमा गम्भीर बहस गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा शिक्षा विकास तथा समन्वय समिति काठमाडौंका प्रमुख सुरेश कुमार जोशी रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा सुवास न्यौपानेको उपस्थिति रहेको थियो भने अतिथिहरूमा भिष्मराज ढकाल, मिरा सिलवाल, शम्भु अधिकारी तथा गेहेन्द्र लामालगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि सुरेश कुमार जोशीले राष्ट्र निर्माणको आधार शिक्षा भएकाले निजी तथा सामुदायिक विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बदलिँदो विश्व परिवेशअनुसार प्रविधिमैत्री तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको क्षमता विकासमा विद्यालयहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष राजन श्रेष्ठले निजी विद्यालयहरूले राष्ट्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै अबको आवश्यकता प्रविधिमैत्री, व्यवहारिक र अनुसन्धानमुखी शिक्षामा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावभन्दा माथि राखेर विद्यार्थीको भविष्य निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
यसैबीच अधिवेशनअन्तर्गत सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा मिरा सिलवाल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा सुदिप काफ्ले चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा लक्ष्मी घले र विजय न्यौपाने, महासचिवमा राजेश्वर तिवारी, उप–महासचिवमा होमलक्ष्मी गुरुङ, कोषाध्यक्षमा रुपक लामिछाने, सचिवमा शशिकला खड्का तथा सह–कोषाध्यक्षमा अमित नेवा निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा निराजन आचार्य, सुस्मिता मैनाली, सुरेन्द्र मगर, किरण खड्का, रमेश श्रेष्ठ तथा नारायण चोलागाईं चयन हुनुभएको छ ।
नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशनमा सहभागीहरूले संगठनलाई अझ सशक्त, प्रभावकारी तथा उद्देश्यपूर्ण ढंगले अघि बढाउन नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
विशिष्ट अतिथि सुवास न्यौपानेले निजी विद्यालयहरू केवल व्यवसायिक संस्था नभई समाज निर्माणका आधार स्तम्भ भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा, अनुशासन तथा नैतिक मूल्य स्थापनामा निजी विद्यालयहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी अतिथि भिष्मराज ढकालले शिक्षक, अभिभावक र विद्यालयबीचको समन्वय बलियो भए मात्र विद्यार्थीको समग्र विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो । मिरा सिलवालले विद्यार्थीमा सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्ने शिक्षामा जोड दिनुपर्ने बताउनुभयो भने शम्भु अधिकारीले निजी विद्यालयहरूबीच सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गेहेन्द्र लामाले शिक्षा क्षेत्रलाई मर्यादित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन सबै शैक्षिक संस्थाहरू जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राजन श्रेष्ठले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी, सदस्य विद्यालय, सञ्चारकर्मी तथा सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आगामी दिनमा प्याब्सकलाई अझ सशक्त, व्यवस्थित र शिक्षामुखी संस्थाका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।






