भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएकाे छ। सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न दिएको अन्तिम समयसीमाअनुसार बोर्डले आवश्यक सम्पूर्ण प्राविधिक तथा प्रशासनिक काम तीव्र रूपमा अघि बढाएको हो।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने कार्य सम्पन्न भइसकेको छ भने तथ्याङ्क रुजु तथा अन्तिम प्रमाणीकरणको काम पनि लगभग सकिएको छ। उनले भने, ‘सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न समयसीमा दिएको थियो। सोही समयसीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ। प्राप्ताङ्क इन्ट्री गर्ने काम सकिएको छ। अहिले अन्तिम रुजु भइरहेको छ। कुनै प्राविधिक समस्या नआए मङ्गलबार नतिजा सार्वजनिक हुन्छ।’
पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी
यस वर्षको एसइई परीक्षा गत चैत १९ गतेदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा सञ्चालन भएको थियो। परीक्षामा नेपालभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए। साथै जापानमा स्थापना गरिएको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले पनि परीक्षा दिएका थिए। परीक्षा चैत २९ गते सम्पन्न भएको थियो।
एक महिनामै नतिजा सार्वजनिक गर्ने सरकारी निर्देशन
विगतमा एसइईको नतिजा सार्वजनिक हुन सामान्यतः दुईदेखि तीन महिना लाग्ने गरेको थियो। तर यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुअघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका थिए।
त्यसअनुसार उत्तरपुस्तिका परीक्षण पनि परीक्षा सम्पन्न भएको तीन दिनभित्र सम्बन्धित परीक्षा केन्द्रमै सम्पन्न गरिएको थियो।
यसरी हेर्न सकिन्छ एसइई नतिजा
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै एसइई नतिजा हेर्न सकिने आधिकारिक माध्यमहरूको सूची सार्वजनिक गरेको छ। विद्यार्थीहरूले एसएमएस, आइभिआर (IVR), युएसएसडी (USSD) तथा विभिन्न वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सक्नेछन्।
वेबसाइटमार्फत
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०: [www.see.gov.np](http://www.see.gov.np)
राष्ट्रिय परीक्षा बोर्ड: [www.neb.gov.np](http://www.neb.gov.np)
नेपाल टेलिकम: [www.see.ntc.net.np](http://www.see.ntc.net.np)
एसएमएसमार्फत
मोबाइलको मेसेज बक्समा गई बोर्डले तोकेको आधिकारिक सर्टकोडमा आफ्नो सिम्बोल नम्बर पठाएर नतिजा प्राप्त गर्न सकिन्छ।
फोन (IVR) मार्फत
नेपाल टेलिकमको १६०० नम्बरमा कल गरेर पनि नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ।
युएसएसडी (USSD) मार्फत
नेपाल टेलिकमका प्रयोगकर्ताले तोकिएको युएसएसडी सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सक्नेछन्। एसइई दिएका लाखौँ विद्यार्थी र अभिभावकको प्रतीक्षाको घडी अब सकिन लागेको छ। कुनै प्राविधिक समस्या नआए मङ्गलबार नै नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ।





