काठमाडौं, वैशाख १३, २०८३ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको ८औँ वार्षिक साधारण सभा काठमाडौंस्थित यल्लो पेगोडा होटलमा भव्य रूपमा सम्पन्न भएको छ। देशभरका व्यवसायी, उद्योगी, उद्यमी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न सभाले व्यवसायिक एकता, संस्थागत सुदृढीकरण र नीतिगत सुधारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यसैगरी संस्थापक अध्यक्ष नरेश कटुवाल विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कृष्ण बाँस्कोटा, टेक बहादुर शाक्य, लक्ष्मी खड्का लगायतका विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव नविन लुँइटेलले गर्नुभएको थियो।
अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्यमा वर्तमान आर्थिक अवस्था र व्यवसायीहरूले भोगिरहेका चुनौतीबारे चर्चा गर्दै निजी क्षेत्रलाई सशक्त बनाउन नीतिगत सुधार अपरिहार्य रहेको बताउनुभयो। उहाँले उत्पादन वृद्धि, रोजगारी सिर्जना र कर राजस्व अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण, लगानी सुरक्षा, सहज बैंकिङ पहुँच र कर प्रणाली सुधारमा जोड दिनुभयो।
प्रमुख अतिथि दाहालले सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्वदेशी उत्पादनको संरक्षण र लगानी प्रवर्द्धनमार्फत आर्थिक स्थायित्व हासिल गर्न सकिने धारणा राख्नुभयो। उहाँले समृद्ध नेपाल निर्माणमा व्यवसायीहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो।
संस्थापक अध्यक्ष कटुवालले महासंघको स्थापना कालदेखि हालसम्मको यात्राबारे चर्चा गर्दै संस्थागत एकता र अनुशासनले महासंघलाई राष्ट्रिय स्तरमा स्थापित गराएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदै संस्थालाई अझ गतिशील बनाउने आवश्यकता औंल्याउनुभयो।
सभामा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले साना तथा मझौला व्यवसायीको संरक्षण, महिला तथा युवा उद्यमशीलता प्रवर्द्धन, डिजिटल व्यवसाय विस्तार तथा कर प्रणालीमा सुधारका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
महासंघले आगामी कार्ययोजनाअन्तर्गत व्यवसायीहरूको हकहित संरक्षण, नीति संवाद, सदस्य विस्तार तथा सीप विकास कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरेको जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यवसायीहरूलाई सम्मान गरिएको थियो भने वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।
उच्च सहभागिता र उत्साहपूर्ण वातावरणमा सम्पन्न साधारण सभाले महासंघलाई अझ संगठित र प्रभावकारी बनाउँदै आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।





