काठमाडौंको गोठाटारस्थित वैदिक विद्यापीठको नवनिर्मित भवन उद्घाटन समारोह सम्पन्न भएको छ। २१ चैत २०८२ शनिबार आयोजित उक्त समारोहमा रमेश नेपाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
समारोहको अध्यक्षता संस्थाका अध्यक्ष यादव पाण्डेले गरेका थिए। कार्यक्रममा विद्यालयकी उपप्रधानाध्यापक शर्मी बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको भावी योजना, उद्देश्य तथा शैक्षिक दृष्टिकोणबारे जानकारी गराएकी थिइन्। विद्यालयकी प्रधानाध्यापक दीपा पाण्डेले विद्यालयको समग्र शैक्षिक गतिविधि तथा आगामी योजनाबारे प्रकाश पारेकी थिइन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश नेपालले गुणस्तरीय शिक्षाको विकासका लागि निजी तथा संस्थागत प्रयास आवश्यक रहेको उल्लेख गर्दै वैदिक विद्यापीठले शिक्षाको क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। अध्यक्ष यादव पाण्डेले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास, नैतिक शिक्षा तथा आधुनिक शिक्षण पद्धतिलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
नवनिर्मित भवन सञ्चालनमा आएपछि विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार थप सुदृढ हुने तथा विद्यार्थीलाई अझ व्यवस्थित र आधुनिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुने विद्यालयले जनाएको छ।
समारोहको प्रारम्भ सांस्कृतिक कार्यक्रममार्फत गरिएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले उपस्थित अतिथि तथा अभिभावकलाई स्वागत गर्नुका साथै समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।






