काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा (एजीएम) आज सफलतापूर्वक सम्पन्न भएको छ । नेपालका वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव बटुलेको संस्थाले आफ्नो स्थिरता र विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
वि.सं. २०५१ (सन् १९९५) मा वित्त कम्पनी ऐन, २०४२ अन्तर्गत स्थापना भई नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त उक्त कम्पनी हाल एक अर्ब रुपैयाँ अधिकृत पुँजी र करिब ९४ करोड ६१ लाख रुपैयाँ जारी पुँजीसहित सञ्चालनमा रहेको छ। कम्पनीको स्वामित्व संरचना सन्तुलित रहेको छ, जसमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको छ। साथै, कम्पनीका सेयरहरू नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छन्।
सभामा कम्पनीले नेपालको आर्थिक उदारीकरण नीतिअनुसार विभिन्न क्षेत्रमा लगानी गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्याइरहेको उल्लेख गरिएको थियो। काठमाडौंको हात्तिसार, कमलपोखरीस्थित केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको कम्पनीले बुटवल, इटहरी, नेपालगञ्ज, धनगढी र भैरहवालगायतका प्रमुख शहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ।
कम्पनी व्यवस्थापनले ग्राहककेन्द्रित सेवा, वित्तीय स्थायित्व र कार्यक्षमतामा सुधारलाई आफ्नो सफलताको मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ। विगतका वर्षहरूमा व्यक्तिगत तथा व्यवसायिक ग्राहकलाई लक्षित गरी उपयुक्त वित्तीय सेवा प्रदान गर्दै कम्पनीले विश्वासिलो छवि निर्माण गरेको जनाएको छ।
आगामी दिनमा कम्पनीले आफ्नो पुँजी आधार वृद्धि गर्ने, कर्जा तथा निक्षेप विस्तार गर्ने तथा देशका पहुँचविहीन क्षेत्रमा शाखा विस्तार गर्ने रणनीति अघि सारेको छ। साथै, वित्तीय सेवामा पहुँच बढाउँदै शेयरधनीहरूलाई दिगो प्रतिफल प्रदान गर्ने लक्ष्य राखिएको छ।
कम्पनीले बजारमा अग्रणी संस्थाका रूपमा स्थापित हुने दीर्घकालीन लक्ष्यसहित उच्च नाफा, नवीन वित्तीय उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
३१औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न हुनु कम्पनीको निरन्तर प्रगति र नेपालको वित्तीय क्षेत्रमा थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धताको प्रतीकका रूपमा लिइएको छ।





