क्यासिनो मालिकसँग हारे नारायणकाजी श्रेष्ठ



बरहथवा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही–३ मा नरेन्द्र साह कलवार विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका थिए।

निर्वाचन अधिकृत नवराज आचार्य का अनुसार साहले ४६ हजार ८९० मत प्राप्त गर्दा नारायणकाजी श्रेष्ठ ले १३ हजार ३३८ मत प्राप्त गरे। मतगणनाको प्रारम्भिक चरणदेखि नै साहले अग्रता कायम गरेका थिए।

साहले ३३ हजार ५५२ मतान्तरले विजय हासिल गरेका हुन्। निर्वाचन परिणामअनुसार नेकपा एमाले का उम्मेदवार हरिप्रसाद उप्रेती ले ५ हजार ७७६, नेपाली कांग्रेस का उम्मेदवार विनोद खनाल ले ६ हजार ६२४ तथा उज्यालो नेपाल पार्टी का उम्मेदवार त्रिभुवनकुमार सिंह ले २ हजार ६२२ मत प्राप्त गरेका छन्।

शुक्रबार बिहानबाट सुरु भएको मतगणना आज बिहान सम्पन्न भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिएका छन्।

तेस्रो प्रयासमा सफलता
नवनिर्वाचित साहलाई तेस्रो प्रयासमा सफलता मिलेको हो। दोस्रो संविधानसभामा समानुपातिक सदस्य रहेका साहले २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर तत्कालीन नेकपा माओवादी केन्द्र का नेता रामेश्वर राय यादव सँग पराजित भएका थिए।

२०७९ को निर्वाचनमा पनि उनले माओवादी केन्द्रबाटै चुनाव लडेका थिए। त्यसबेला उनी झिनो मतान्तरले एमालेका उम्मेदवार उप्रेतीसँग पराजित भएका थिए। यसपटक भने उम्मेदवारी दर्ताको अन्तिम समयमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी बाट टिकट लिएर चुनाव लडेका थिए।

क्यासिनो व्यवसायी समेत रहेका साह पटक–पटक पार्टी परिवर्तन गरेर टिकट लिँदै आएका थिए। यसअघि माओवादी केन्द्रबाट उम्मेदवारी दिँदा महँगोमा टिकट किनेको आरोप पनि लागेको थियो। उनले सञ्चालन गरेको एक अनलाइन मिडियाका कर्मचारीले २० महिनादेखिको तलब नपाएको भन्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उजुरी दिएको चर्चा पनि भएको थियो।

पटक–पटक पार्टी फेरेर संसद् पुग्ने सपना देखेका साह यसपटक भने बालेन्द्र शाह को लोकप्रियताको लहरसँगै प्रत्यक्षतर्फबाट संसद् यात्रा तय गर्न सफल भएका छन्।

एक लाख ३४ हजार ४१२ मतदाता रहेको यस क्षेत्रमा ८२ हजार २७२ मत खसेको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार