रास्वपाका मकवानपुर सभापति कांग्रेस प्रवेश



हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा सोमबार बिहान टीकामाला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निरज बर्तौला पनि कांग्रेस प्रवेश गरेका छन्। पराजुली आइतबार राति नै सर्लाही पुगेका थिए।

थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत रास्वपा परित्याग गरेको घोषणा गरेका छन्। मनहरी गाउँपालिका निवासी पराजुली ६ मंसिर २०८१ मा भएको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए। कांग्रेस छोडेर रास्वपामा नेतृत्व सम्हालेका उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका थिए।

उक्त निर्वाचनमा उनले १२ हजार ३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः उम्मेदवार बन्न इच्छुक रहेका पराजुली पार्टीबाट टिकट नपाएपछि असन्तुष्ट बनेका थिए।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार