नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचन (२०८१) का लागि सार्वजनिक गरेको आफ्नो ‘प्रतिज्ञा पत्र’ (घोषणा पत्र) मा शिक्षा क्षेत्रको व्यापक सुधार र रूपान्तरणका लागि बुँदागत योजनाहरू अघि सारेको छ । कांग्रेसले शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री र सबैको पहुँचमा पुऱ्याउने संकल्प गरेको छ।
घोषणा पत्रमा उल्लेख गरिएका शिक्षा सम्बन्धी मुख्य योजनाहरू यस प्रकार छन्:
स्थानीय तहलाई शिक्षा अनुदान: स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै विद्यालय शिक्षाका लागि दिइने अनुदानलाई क्रमशः एकमुष्ठ रूपमा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
नमुना विद्यालयको विस्तार: प्रत्येक स्थानीय तहमा कम्तीमा दुईवटा नमुना (मोडल) विद्यालयहरू रहने गरी यसको संख्या विस्तार गरिने रणनीति लिइएको छ ।
सामुदायिक विद्यालय पुन:संरचना: मापदण्ड अनुसार शिक्षक र विद्यार्थीको अनुपात कायम गर्ने गरी सामुदायिक विद्यालयहरूको पुन:संरचना गरिने उल्लेख छ ।
अंग्रेजी र प्रविधिमैत्री शिक्षा: विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन अंग्रेजी भाषाको गुणस्तरीय पठनपाठनका लागि आवश्यक शिक्षक र पाठ्यक्रमको व्यवस्था गरिनेछ । साथै, माथिल्लो कक्षामा डिजिटल पूर्वाधार, स्मार्ट शिक्षण-सिकाई र डिजिटल सामग्रीको प्रयोग बढाउँदै विद्यालयहरूलाई प्रविधिमैत्री बनाइनेछ ।
आजीवन सिकाई नीति: सबै उमेर समूहका नागरिकका लागि प्रविधिमैत्री र जीवन-उपयोगी ‘आजीवन सिकाई’ (Lifelong Learning) पद्धति निर्माण गर्न राष्ट्रिय आजीवन सिकाई नीति ल्याइनेछ ।
उच्च शिक्षामा सहुलियत र गुणस्तर: आर्थिक अभावका कारण कोही पनि उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्नका लागि राज्यले सहुलियतपूर्ण दरमा ऋण उपलब्ध गराउनेछ । साथै, अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्न विश्व वरीयता (ranking) मा माथि रहेका शिक्षण संस्थाहरूका ‘स्याटेलाइट क्याम्पस’ (Satellite campus) हरू नेपालमा सुरु गर्न दिने व्यवस्था मिलाइनेछ ।
छात्रवृत्ति र पहुँच: शिक्षामा नागरिकको पहुँच बढाउन राज्यबाट प्रदान गरिने छात्रवृत्तिलाई सिधै विद्यार्थीको बैंक खातामा पुग्ने गरी पारदर्शी बनाइनेछ । साथै, महिलाहरूका लागि शिक्षा र नेतृत्वका अवसरहरूमा समान पहुँच सुनिश्चित गरिने प्रतिज्ञा गरिएको छ ।
समग्रमा, कांग्रेसले शिक्षालाई सुशासन र समुन्नत नेपाल निर्माणको प्रमुख आधारका रूपमा व्याख्या गर्दै आधुनिक र प्रविधिमैत्री शैक्षिक प्रणालीको वकालत गरेको छ।





