दमक । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी रहेको झापा क्षेत्र नं. ५ का लागि ४२ बुँदे विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र र राष्ट्रियताको संरक्षण तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकताका रूपमा अघि सारिएको छ। एमालेले निर्वाचनपछिको स्पष्ट कार्यदिशासहित जनतामाझ जाने सन्देश दिँदै झापा–५ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
राजनीतिक दृष्टिकोण र पार्टीको अडान
प्रतिबद्धता पत्रमा एमाले नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार रहेको उल्लेख गर्दै २००६ साल वैशाख १० गते स्थापना भएको पार्टीले ७६ वर्षको संघर्षपूर्ण यात्रा तय गरेको स्मरण गराइएको छ। दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावविरुद्ध निरन्तर संघर्ष गर्दै आएको दाबी गर्दै एमालेले २०५१/०५२ सालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी लोकप्रिय कार्यक्रमहरू सुरु गरेको उल्लेख गरेको छ।
२०७४ सालको आमनिर्वाचनपछि गठन भएको सरकारको नेतृत्व ओलीले गरेको र आन्तरिक तथा बाह्य कारणले २०७८ सालमा सरकार विघटन हुन पुगेको प्रसंगसमेत समेटिएको छ। कोभिड–१९ महामारीका कारण करिब डेढ वर्ष जनजीवन प्रभावित भए पनि बाँकी अवधिमा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको दाबी प्रतिबद्धता पत्रमा गरिएको छ।
एमालेले स्पष्ट नीति र कार्यक्रमविहीन दलहरू जनताबाट क्रमशः अलोकप्रिय बन्दै गएको टिप्पणी गर्दै आफूहरू बाधा–अड्चन चिर्दै अघि बढिरहेको जनाएको छ।
स्टन्टबाजी र पपुलिस्ट प्रवृत्तिप्रति टिप्पणी
प्रतिबद्धता पत्रमा केही राजनीतिक शक्तिहरूको ‘स्टन्टबाजी’ र पपुलिस्ट चरित्रप्रति संकेत गर्दै त्यस्ता शक्तिसँग स्पष्ट दर्शन, नीति र कार्यक्रम नभई देखावटी नारा मात्र हुने आरोप लगाइएको छ।
सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट तथ्यहीन सामग्री प्रचार हुँदा जनमानसमा भ्रम सिर्जना भएको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग नियमन गर्न कानुनी व्यवस्था आवश्यक रहेको धारणा पनि सार्वजनिक गरिएको छ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ कार्यक्रम
एमालेले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा केवल भाषण नभई ठोस कार्यक्रम भएको दाबी गरिएको छ। विगतका उपलब्धिको संरक्षण र अधुरा काम सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउँदै पार्टी जनता र कार्यकर्तामा आधारित संगठन भएको उल्लेख गरिएको छ।
सुशासन र भ्रष्टाचार नियन्त्रण
प्रतिबद्धता पत्रमा सुशासनलाई लोकतन्त्रको सुन्दरता भन्दै राजनीतिक अस्थिरताका कारण अपेक्षित सुशासन कायम हुन नसकेको स्वीकार गरिएको छ। आगामी कार्यकालमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी प्रशासन सुनिश्चित गर्ने कार्यक्रम अघि सारिएको छ।
भ्रष्टाचार नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाइने उल्लेख गर्दै विगतमा एमाले सरकार हुँदा सुरु गरिएका सुधार कार्यक्रमलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
राष्ट्र र राष्ट्रियताको सवाल
नेपाल भूपरिवेष्ठित मुलुक भएकाले व्यापार र पारवहन सन्धिमार्फत भू–जडित राष्ट्रको रूपमा स्थापित गर्न कूटनीतिक पहल सुदृढ गरिने उल्लेख गरिएको छ। छिमेकी मुलुकसँग सन्तुलित र सम्मानजनक सम्बन्ध विस्तार गर्दै राष्ट्रिय हित संरक्षण गर्ने अडान दोहोर्याइएको छ।
पूर्वाधार र विकासका ४२ एजेन्डा
४२ बुँदे प्रतिबद्धतामा अधुरा तथा रोकिएका विकास आयोजना सम्पन्न गर्न सशक्त पहल गर्ने, भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण तीव्र बनाउने उल्लेख छ।
स्वास्थ्य बीमा विस्तार, ग्राभेल सडक कालोपत्रे, शीतभण्डार निर्माण, प्रत्येक पालिकामा सुविधा सम्पन्न खेलमैदान, सामुदायिक क्याम्पस तथा विद्यालयको स्तरोन्नति, सिँचाइ विस्तार, कृषि आधुनिकीकरण, जैविक मल कारखाना स्थापना र खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने योजना समेटिएको छ।
दमक र गौरादह बजार आधुनिकीकरण, गौरीगञ्जमा स्मार्ट सिटी कार्यक्रम, रतुवा–मावा–कमल खोलामा तटबन्धन, दमक–चिसापानी–रवि सडक पुनःनिर्माण, दमक–उर्लाबारी पुल निर्माण, बिजिनेस टावर सञ्चालन तथा ल्यान्डपुलिङ, विज्ञान पार्क र औद्योगिक पार्क निर्माणजस्ता महत्वाकांक्षी योजना पनि प्रतिबद्धता पत्रमा समावेश छन्।
त्यस्तै, मदन भण्डारी रङ्गशाला, आदिवासी रङ्गशाला, नगर अस्पताल स्तरवृद्धि, विराट बुद्धपार्क, आयुर्वेदिक अस्पताल स्तरोन्नति, पर्यटकीय क्षेत्र विकास, स्वच्छ खानेपानी, पुल निर्माण, नमुना खेती विस्तार, सिमसार संरक्षण र धार्मिक–सांस्कृतिक प्रतिष्ठानको प्रवर्द्धनजस्ता कार्यक्रमहरू पनि प्राथमिकतामा राखिएका छन्।
झापा–५ लाई समृद्ध, व्यवस्थित र पूर्वाधार सम्पन्न निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित सार्वजनिक गरिएको ४२ बुँदे प्रतिबद्धता पत्रमार्फत एमाले अध्यक्ष ओलीले मतदातासँग स्पष्ट कार्यक्रम र परिणाममुखी कार्यशैलीको वाचा गरेका छन्। चुनावी प्रतिस्पर्धा तातिँदै जाँदा झापा–५ का मतदाताले यसपटक कुन एजेन्डालाई रोज्नेछन् भन्ने चासो बढ्दै गएको छ।





