काठमाडौं । नेपाली औषधि उत्पादन क्षेत्रको अग्रणी कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रा. लि. ले आफ्नो स्थापनाको ३५ वर्ष पूरा गरेको अवसरमा भव्य रूपमा वार्षिकोत्सव सम्पन्न गरेको छ। विगत साढे तीन दशकदेखि अत्याधुनिक प्रविधिको प्रयोगमार्फत स्वदेशमै गुणस्तरीय औषधि उत्पादन गर्दै आएको कम्पनीले यस अवसरमा नयाँ लगानी योजनासमेत सार्वजनिक गरेको छ।
कम्पनीले स्थापना कालदेखि नै नेपाली जनताको स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै औषधिमा देशलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ। हाल देउराली–जनताले जीवनरक्षक औषधिसहित २९६ प्रकारका क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट तथा ड्राइ पाउडर उत्पादन गरिरहेको छ।
कम्पनीमा ६७५ भन्दा बढी दक्ष वैज्ञानिक, प्राविधिक तथा कर्मचारीहरू कार्यरत छन्। गुणस्तरप्रति उच्च प्रतिबद्धता जनाएको कम्पनीले ISO-9001 र ISO-14001 प्रमाणीकरण प्राप्त गर्नुका साथै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार WHO-GMP प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि कम्पनीका रूपमा पहिचान बनाएको छ।
चितवनमा नयाँ उद्योग स्थापना
३५औँ वार्षिकोत्सवकै अवसरमा देउराली–जनता फर्मास्युटिकल्सले उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा नयाँ अत्याधुनिक उद्योग स्थापना गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार उक्त परियोजनामा कुल ४७५ करोड रुपैयाँ लगानी गरिनेछ। आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यस उद्योगबाट उत्पादन सुरु भएपछि करिब ५५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

आत्मनिर्भरता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लक्ष्य
कम्पनीले आगामी दिनमा प्रविधि हस्तान्तरण, अनुसन्धान तथा गुणस्तर सुधारमा थप जोड दिँदै नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको जनाएको छ।
“नेपाललाई औषधि क्षेत्रमा पूर्ण आत्मनिर्भर बनाउने हाम्रो दीर्घकालीन उद्देश्य हो,” कम्पनीद्वारा जारी वक्तव्यमा भनिएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले चिकित्सक, औषधि व्यवसायी, सरकारी निकाय तथा आम उपभोक्ताप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र गुणस्तरीय औषधि उत्पादनमार्फत जनस्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।





