काठमाडौँ क्षेत्र नं. २ मा कांग्रेसको चुनावी प्रचार–प्रसार भेला सम्पन्न
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर २ ले आज विशेष चुनावी प्रचार–प्रसार भेला सम्पन्न गरेको छ । कांग्रेसका उम्मेदवार कबिर शर्मा फुयालको नेतृत्वमा रोयल पार्टी प्यालेस, मुलपानी क्रिकेट स्टेडियम अगाडि आयोजित भेलामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
भेलामा पार्टीका इकाई सभापति, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, नगर तथा प्रदेश समिति पदाधिकारी, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जनप्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो । भेलामा आगामी निर्वाचनलाई प्रभावकारी रूपमा अगाडि बढाउने, घरदैलो अभियानलाई तीव्र बनाउने र पार्टी संगठनलाई थप सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कबिर शर्मा फुयालले लोकतन्त्र, सुशासन र समावेशी विकास नेपाली कांग्रेसको प्रमुख एजेन्डा रहेको बताए । उनले काठमाडौँ क्षेत्र नम्बर २ का जनताको विश्वास जित्ने गरी जिम्मेवार र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा केन्द्रित विकास योजना, सुशासन, पारदर्शिता तथा भ्रष्टाचारविरुद्धको दृढ अडान आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारे ।
लामो समयदेखि पार्टी संगठन निर्माण, सुदृढीकरण तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका फुयाल उम्मेदवार बनेसँगै क्षेत्रीय राजनीतिक गतिविधि थप सक्रिय बनेको नेताहरूले बताएका छन् । उनले पार्टीभित्रको एकता र कार्यकर्ताको सक्रिय भूमिकाले निर्वाचनमा कांग्रेसको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
भेलाले निर्वाचन प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा सक्रियताका साथ लाग्न आह्वानसमेत गरेको छ ।






