रेडमी नोट १५ सिरिज नेपालमा भित्रियो, शक्तिशाली फिचरसहित चार नयाँ स्मार्टफोन सार्वजनिक



काठमाडौं।
विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमी (Xiaomi) ले बहुप्रतिक्षित रेडमी नोट १५ सिरिज आज काठमाडौंमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस सिरिजअन्तर्गत रेडमी नोट १५ प्रो+ ५जी, रेडमी नोट १५ प्रो ५जी, रेडमी नोट १५ ५जी र रेडमी नोट १५ ४जी गरी चारवटा मोडल नेपाली बजारमा उपलब्ध गराइएको छ।

फ्ल्यागसिप मोडल: रेडमी नोट १५ प्रो+ ५जी

सिरिजको प्रमुख मोडल रेडमी नोट १५ प्रो+ ५जी मा ६,५०० mAh क्षमताको सिलिकन–कार्बन ब्याट्री, १००W हाइपरचार्ज सपोर्ट, स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसर तथा २०० मेगापिक्सेलको शक्तिशाली क्यामेरा समावेश गरिएको छ। उच्च ब्राइटनेस एमोलेड डिस्प्ले, आइसलुप कुलिङ सिस्टम र उन्नत सुरक्षा रेटिङले यसलाई फ्ल्यागसिप सेग्मेन्टमा स्थापित गरेको कम्पनीको दाबी छ।

रेडमी नोट १५ प्रो ५जी र नोट १५ ५जी

रेडमी नोट १५ प्रो ५जी मा मिडियाटेक डाइमेन्सिटी ७४००–अल्ट्रा प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र विभिन्न एआई आधारित फिचरहरू दिइएका छन्।

त्यसैगरी, नोट १५ ५जी सिरिजकै सबैभन्दा पातलो स्मार्टफोनका रूपमा प्रस्तुत गरिएको छ, जसमा १०८ मेगापिक्सेल क्यामेरा, ४५W फास्ट चार्जिङ र उज्यालो एमोलेड डिस्प्ले रहेको छ।

रेडमी नोट १५ ४जी

रेडमी नोट १५ ४जी मोडलमा ६,००० mAh ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेट र मिडियाटेक हेलियो जी१०० अल्ट्रा प्रोसेसर समावेश गरिएको छ।

मूल्य र उपलब्धता

रेडमी नोट १५ सिरिज नेपालभर टेलि डाइरेक्ट प्रा.लि. र वत्स इम्पैक्स प्रा.लि. मार्फत बिक्रीमा ल्याइएको छ। यी स्मार्टफोनको मूल्य नेपाली बजारमा २९,९९९ रुपैयाँदेखि ६६,९९९ रुपैयाँसम्म निर्धारण गरिएको छ।

लन्च अफर

लन्चको अवसरमा सबै मोडलमा ९ महिनासम्मको ०% ईएमआई सुविधा प्रदान गरिनुका साथै साओमी बड्स खरिदमा विशेष छुटसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ६ गते सोमवार