एनएलजी इन्स्योरेन्सको २०औँ वार्षिक साधारणसभा सम्पन्न, ७.३७ प्रतिशत लाभांश पारित



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औँ वार्षिक साधारणसभा आज काठमाडौंको गौहिधारास्थित सिल्भर ओक ब्याङ्केट एण्ड इभेन्ट्स सेन्टरमा सफलतापूर्वक सम्पन्न भएको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न सभाले कुल ७.३६८४ प्रतिशत लाभांश पारित गरेको छ। जसअनुसार ४ प्रतिशत बोनस सेयर, ३ प्रतिशत नगद लाभांश तथा ०.३६८४ प्रतिशत नगद कर प्रयोजनका लागि वितरण गरिनेछ।
सभाले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरूको समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा पुनः शालिनी राणा शाह र डा. भरत कुमार थापालाई सञ्चालक समितिमा निर्वाचित गरेको छ।
साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरू पनि स्वीकृत गरिएको छ।
सभाले कम्पनी ऐन, २०६३ को दफा ११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ। त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संशोधनका सम्बन्धमा नियामक निकायबाट प्राप्त हुने सुझाव वा निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
सभामा उपस्थित सेयरधनीहरूले कम्पनीको समग्र प्रगति तथा व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तको कार्यसम्पादनको खुलेर प्रशंसा गरेका थिए।

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार