काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारण सभा (AGM) काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, लाभांशमा लाग्ने कर प्रयोजनार्थ छुट्याइएको ०.६६ प्रतिशत बराबरको नगद लाभांश समेत सभाले स्वीकृत गरेको छ।
सभाबाट कम्पनीको चुक्तापुँजी वृद्धि गर्ने तथा सोअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित भएको छ। लगानीसम्बन्धी विद्यमान व्यवस्थामा थप परिमार्जन गर्ने प्रस्तावलाई पनि अनुमोदन गरिएको छ।
साथै, नियमावली तथा प्रबन्धपत्र संशोधनका क्रममा नियामक निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २,२५९.३७ करोड रुपैयाँ पुगेको छ। समीक्षा वर्षमा सञ्चालनबाट प्राप्त १,४९८.५९ करोड रुपैयाँ कूल बीमा करार दायित्वमा थप गरिएको छ। यससँगै कूल बीमा करार दायित्व अघिल्लो वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई ९,४५८.७७ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी, कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, सर्मपण मूल्य तथा अन्य दाबी बापत कूल ९४८.६५ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ।





