काठमाडौं।
ग्रीन भेन्चर्स लिमिटेडको सातौँ वार्षिक साधारण सभा आज काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। सभा कम्पनीका सञ्चालक समिति सदस्य अमुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो।
सभामा कम्पनीको ओखलढुंगा र रामेछाप जिल्लामा अवस्थित लिखु–४ जलविद्युत आयोजनाको प्रगति विवरण प्रस्तुत गरिएको थियो। उक्त आयोजना निर्माण सम्पन्न गरी वि.सं. २०७८/०७/२१ देखि व्यापारिक उत्पादन सुरु गर्दै राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत आपूर्ति भइरहेको जानकारी दिइयो।
साधारण सभाले वार्षिक छलफलका लागि प्रस्तावित सबै विषयसूचीहरू पारित गरेको छ। सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण, आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण अनुमोदन गरिएको छ। साथै, कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि.लाई ऋण सुविधा प्राप्त गर्न कर्पोरेट ग्यारेन्टी दिने र संस्थापक शेयर सुरक्षणमा राख्ने सम्बन्धी निर्णय पनि पारित गरिएको छ।
त्यसैगरी, विशेष प्रस्ताव अन्तर्गत कम्पनीको तत्काल कायम चुक्ता पुँजी रु. ३ अर्ब ४३ करोड ७५ लाखको १.१ अनुपातमा सोही बराबरको ३४ लाख ३७ हजार ५०० कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय भएको छ। हकप्रद शेयर जारीका लागि कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
आर्थिक विवरण अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले विद्युत बिक्रीबाट रु. १ अर्ब ६० करोड २० लाखभन्दा बढी आम्दानी गरेको छ। सो अवधिमा कुल २८ करोड २१ लाख २५ हजार युनिट विद्युत बिक्री भएको थियो, जुन कन्क्ट्रयाक्ट इनर्जीको ९५.१६ प्रतिशत रहेको छ। कम्पनीले उक्त अवधिमा रु. ३६ करोड ८७ लाख खुद नाफा आर्जन गरेको जनाएको छ। असार मसान्तसम्म बैंक कर्जा रु. ७ अर्ब १३ करोड रहेको छ।
कम्पनीले भविष्यमा व्यापार विस्तारका लागि अन्य जलविद्युत आयोजनामा लगानी, शेयर खरिद, सहायक कम्पनी स्थापना वा गाभ्ने रणनीति लिएको जानकारी पनि सभामा दिइयो। सोही रणनीतिअनुसार म्याग्दी र मुस्ताङ जिल्लास्थित कालीगण्डकी नदीमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज हाइड्रोपावर आयोजना विकास गरिरहेको कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि.को ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्न वि.सं. २०८२/०५/१० मा शेयर खरिद सम्झौता सम्पन्न भइसकेको छ।
सभाको अन्त्यमा अध्यक्ष अमुल अग्रवालले कम्पनीको उद्देश्य प्राप्तिमा सहयोग पुर्याउने शेयरधनी, सरकारी निकाय, लेखापरीक्षक, कर्मचारी, परामर्शदाता, स्थानीयवासी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।





