काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारण सभा (AGM) सफलतापूर्वक सम्पन्न गरेको छ। साधारण सभा वि.सं. २०८२ पुस २९ गते (जनवरी १३, २०२६) काठमाडौंको धुम्बाराहीस्थित सूर्य क्याटरिङ एन्ड पार्टी प्यालेसमा आयोजना गरिएको थियो।
सभामा सञ्चालक समितिद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ।
त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ अनुसार लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।
सभाले कम्पनीमा रिक्त रहेको सञ्चालक पदमा नयाँ सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ। साथै, कम्पनीको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउन नियमावलीका केही दफाहरू संशोधन गर्ने प्रस्तावलाई पनि अनुमोदन गरिएको छ।
विशेष प्रस्तावअन्तर्गत नियामक निकायको निर्देशनअनुसार शेयर पुँजी समायोजन, फ्रि रिजर्भभन्दा बढी ऋण लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, तथा आवश्यक परे सहायक कम्पनी दर्ता गरी आयोजना विकास तथा लगानी गर्न अधिकार दिने प्रस्तावहरू समेत सभाबाट पारित भएका छन्।
सभामा कम्पनीले आगामी दिनमा सुशासन, पारदर्शिता र वित्तीय सुदृढतालाई प्राथमिकतामा राख्दै आयोजना सञ्चालन तथा दीर्घकालीन विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।





