काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष विशेष महाधिवेशनले गर्ने निर्णयका आधारमा आगामी कदम चाल्ने मनस्थितिमा देखिएको छ। सभापति शेरबहादुर देउवाले सोमबार महाराजगञ्जस्थित अस्थायी निवासमा बोलाएको छलफलबाट संस्थापन पक्ष ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत देखिएको हो।
विशेष महाधिवेशनतर्फ लागेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि तत्काल कारबाही हुने आकलन भए पनि सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का तत्काल कडा कदम चाल्ने पक्षमा नदेखिएको नेताहरू बताउँछन्। विशेष महाधिवेशनले बन्दसत्रबाट गर्ने निर्णयका आधारमा मात्रै थप निर्णय लिने तयारी रहेको उनीहरूको भनाइ छ।
महाराजगञ्जमा भएको छलफलमा सभापति देउवाले निकटस्थ नेताहरूलाई पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै पार्टी फुट्ने जोखिम औंल्याएका थिए। उनले नेताहरूलाई संयमित भएर एक ठाउँमा अडिग रहन र सम्भावित चुनौतीको सामना गर्न तयार रहन आग्रह गरेको सहभागी नेताहरूले बताएका छन्।
छलफलका क्रममा देउवाले महामन्त्री गगन थापाप्रति असन्तुष्टि व्यक्त गर्दै क्रियाशील सदस्यता व्यवस्थापनजस्ता विषयमा पार्टीभित्र समस्या सिर्जना भएको टिप्पणी गरेको पनि नेताहरूको भनाइ छ।
उक्त छलफलमा डा. शेखर कोइराला आफ्ना निकट पदाधिकारी र केन्द्रीय सदस्यसहित सहभागी भएका थिए। उनले सभापति देउवालाई पार्टी विभाजन रोक्न अधिकतम लचकता अपनाउन आग्रह गरेका थिए। संस्थापन पक्षका नेताहरूका अनुसार दुबै पक्षबीच विवाद समाधानका लागि संवाद जारी राख्ने सहमति भएको छ।
यसैबीच, विशेष महाधिवेशन पक्षधरले विद्यमान केन्द्रीय कार्यसमिति भंग गरेर निर्वाचन प्रक्रियामा जाने तयारी थालेपछि कार्यवाहक सभापति खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न अपिल गरेका छन्।
उता, मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ। विशेष महाधिवेशनको निर्णयपछि कांग्रेसको आगामी राजनीतिक दिशा के हुने भन्ने विषय चासोका साथ हेरिएको छ।





