ललितपुर । युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा ललितपुरको बागडोलस्थित वेभा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष मीनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण प्रस्तुत भई छलफलपछि पारित गरिएको छ। सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा अनुमानित बजेटसमेत अनुमोदन गरेको छ।
अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहकारीले गत आर्थिक वर्षमा करिब १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। नाफाबाट सेयर सदस्यहरूलाई प्रति कित्ता १०.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ। साथै लेखा परीक्षकको नियुक्ति, पारिश्रमिक निर्धारण तथा आवश्यक नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू पनि स्वीकृत भएका छन्।
सभाले सहकारीको आर्थिक सुशासन, पारदर्शिता र सदस्य केन्द्रित सेवामा जोड दिँदै आगामी दिनमा थप सुदृढ र प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।






