विद्युतकर्मी बहुउद्देश्यीय सहकारीको २०औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न



काठमाडौं । विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बागबजार काठमाडौंको २०औँ वार्षिक साधारण सभा भव्य र सभ्य रूपमा मिति २०८२ साल पौष २६ गते सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू आबद्ध रहेको यस सहकारीमा देशभर रहेका प्राधिकरणका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरू सदस्यका रूपमा रहेका छन्।

सहकारीले गत वर्षदेखि प्रत्येक प्रदेशमा एकाइ साधारण सभा सम्पन्न गरी केन्द्रिय साधारण सभाका लागि प्रतिनिधि छनोट गर्ने व्यवस्था बिनियमावलीअनुसार लागू गर्दै आएको छ। सोही क्रममा मिति पौष १० गते जनकपुर, सुर्खेत र बुटवल तथा पौष १२ गते विराटनगर, पोखरा र अत्तरियामा एकाइ साधारण सभाहरू सम्पन्न भएका थिए।

संस्थाको २०औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले सहकारीले सदस्यकेन्द्रित नीति अवलम्बन गर्दै देशभर साधारण सभा आयोजना गर्नु, सदस्यहरूलाई विभिन्न सहयोग कार्यक्रम उपलब्ध गराउनु, सुलभ ब्याजदरमा तत्काल ऋण प्रदान गर्नु तथा सदस्यका बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले बाल शैक्षिक बचत कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताए।

उनले सरकारको तीन खम्बे आर्थिक नीतिमध्ये सहकारी एक महत्वपूर्ण खम्बा भए पनि पछिल्लो समय केही सहकारीमा पारदर्शिता र अनुशासनहीनताको समस्या देखिए पनि विद्युतकर्मी सहकारीमा त्यस्तो समस्या नरहेको र संस्थाको आर्थिक अवस्था निरन्तर सुदृढ बन्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गरे।

साधारण सभामा संस्थाका पूर्व सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरू, नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
लेखा सुपरिवेक्षण समितिका संयोजक लिला बहादुर थापाले लेखापरीक्षण प्रतिवेदन र कोषाध्यक्ष राजु प्रसाद तिमिल्सिनाले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
सभामा २०८१ सालको एसईई तथा १०+२ परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका छोराछोरीहरूलाई सम्मान गर्नुका साथै गत आर्थिक वर्षमा संस्थाको कार्य सञ्चालनमा योगदान पुर्‍याउने देशभरका कार्यालयमा कार्यरत उत्कृष्ट प्रतिनिधि, असल ऋणी लगायत विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

होटेल हार्दिक, बागबजारमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य लक्ष्मी गौतमले स्वागत मन्तव्य, सदस्य गंगा कुमारी राउतले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सञ्चालक समिति सचिव निपिन कुमार देवले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार