काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा (AGM) काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार आयोजना गरिएको उक्त साधारणसभा सेयरधनीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको हो।
साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ।
सभामा कम्पनीको सञ्चालक समिति पुनःगठनसम्बन्धी प्रस्तावहरू पारित गरिएको छ। यसअन्तर्गत एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति तथा महिला सहभागितासहित सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव स्वीकृत भएको छ। यसका साथै, अघिल्लो सञ्चालक समिति बैठकबाट भएका निर्णयहरूलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, चुक्ता पुँजी संरचनामा आवश्यक समायोजन गर्ने तथा हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्तावहरू पारित गरिएको छ। हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम कम्पनीका जलविद्युत आयोजनामा लगानी, कर्जा भुक्तानी तथा वित्तीय दायित्व व्यवस्थापनमा उपयोग गरिने जानकारी सभामा दिइयो।
साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीले आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा मानव स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यसम्पादनलाई सुदृढ बनाउँदै आएको जनाएको छ। साथै, परियोजना क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय समुदाय लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विवरण पनि प्रस्तुत गरिएको थियो।
सभामा सेयरधनीहरूले उठाएका जिज्ञासाहरूमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरूले स्पष्ट जवाफ दिएका थिए। साधारणसभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।





