काठमाडौं । संखुवासभामा ६ मेगावाट क्षमताको सुपर हेवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको सुपर हेवा पावर कम्पनी लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। शुक्रबार काठमाडौंको सानो भर्याङस्थित बुद्ध प्यालेस ब्याङ्क्वेटमा सम्पन्न सभाले कम्पनीको भावी रणनीति तथा सर्वसाधारणका लागि सेयर (IPO) निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
बाढी र अवरोधपछि पनि आयोजना सञ्चालन
सभामा अध्यक्ष हर्कबहादुर तामाङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनअनुसार, २०८० साल असार २ गते हेवा खोलामा आएको भीषण बाढीका कारण आयोजनामा ठूलो क्षति पुगेको थियो। उक्त घटनामा १८ जना कामदार तथा कर्मचारी बेपत्ता हुनुका साथै अर्बौँ रुपैयाँ बराबरको भौतिक संरचना नष्ट भएको थियो।
प्राकृतिक विपत्ति र कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद कम्पनीले आयोजनाको पुनर्निर्माण कार्य सम्पन्न गरी २०८२ वैशाख १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। हाल आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति भइरहेको छ।
आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
साधारण सभाले कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।
आईपीओ व्यवस्थापनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको जानकारी दिइएको छ। अब विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक स्वीकृति लिएपछि निष्कासन प्रक्रिया अघि बढाइनेछ। आईपीओबाट संकलित पुँजी आयोजनाको ऋण भुक्तानी तथा कम्पनीको व्यवसायिक विस्तारमा प्रयोग गरिने जनाइएको छ।
अन्य निर्णयहरू
सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब पारित गर्नुका साथै आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गरेको छ। साथै, सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णयलाई पनि सभाले अनुमोदन गरेको छ।
संखुवासभाको चैनपुर नगरपालिकामा अवस्थित यो आयोजनाले राष्ट्रिय ऊर्जा आपूर्तिमा योगदान दिँदै आएको छ। बाढीपछिको कठिन परिस्थितिमा पनि आयोजना सञ्चालनमा ल्याएको भन्दै सेयरधनीहरूले कम्पनी व्यवस्थापनको प्रशंसा गरेका छन्।





