काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशन माग गर्दै लिखित निवेदन दिएका महाधिवेशन प्रतिनिधिहरूको मतको सम्मान गर्न नेतृत्वलाई आग्रह गरेका छन्। ललितपुरको कुपण्डोलमा शुक्रबार बिहान भएको छलफलपछि जारी विज्ञप्तिमार्फत उनीहरूले संवाद र सहमतिका माध्यमबाट पार्टीभित्र परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका हुन्।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई थप विश्वसनीय र भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ। विज्ञप्तिमा परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात् गर्दै नयाँ सोच र दृष्टिकोणसहित निर्वाचनमा होमिनुपर्ने आवश्यकतामा जोड दिइएको छ।
यो समूहले यसअघि पनि निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गर्दै आएको थियो। सोही क्रममा २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरेको समूहले त्यसअघि १८ पुसमा सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेटवार्ता गरेको थियो।





