काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सभा (AGM) काठमाडौंको गोल्फुटारस्थित शुभ इभेन्ट्समा सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्षले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, सञ्चालक समितिको प्रस्तावअनुसार विद्यमान चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
त्यसैगरी, चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित गरिएको छ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन सुदृढीकरण, प्रणालीगत सुधार, ग्राहकमुखी सेवा विस्तार, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा सञ्जालको विस्तार तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान बनाएको जानकारी गराए।
उनले आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउँदै खर्च नियन्त्रण, कर्मचारीहरूको मनोबल अभिवृद्धि, बीमितहरूको विश्वास र अभिकर्ताहरूको सक्रिय सहयोगका कारण कम्पनीको समग्र कार्यसम्पादन सुदृढ हुँदै गएको उल्लेख गरे। साथै, मर्जरपछिका चुनौतीहरूलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई सक्षम र सबल संस्थाका रूपमा अघि बढाइरहेको बताए।





