काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को १६औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन कम्पनीको १६औँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको हो।
प्रतिवेदनअनुसार ईङवा हाइड्रोपावर लिमिटेड वि.सं. २०६६ साल असार ९ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीका रूपमा दर्ता भई वि.सं. २०७१ साल भदौ ९ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनी जलविद्युत उत्पादन, प्रसारण तथा व्यवस्थापन क्षेत्रमा कार्यरत छ।
कम्पनीको हाल अधिकृत पूँजी ९७ करोड रुपैयाँ रहेको छ, जुन प्रतिशेयर १०० रुपैयाँका दरले ९७ लाख कित्ता साधारण सेयरमा विभाजन गरिएको छ। त्यसैगरी कम्पनीको जारी पूँजी ६० करोड रुपैयाँ तथा चुक्ता पूँजी पनि ६० करोड रुपैयाँ रहेको छ, जुन प्रतिशेयर १०० रुपैयाँका दरले ६० लाख कित्ता साधारण सेयरमा विभाजन गरिएको छ।
कम्पनीले स्थानीय प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर निष्कासन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ। ती सेयरहरू मिति २०८०/०३/०३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका थिए। सूचीकृत हुँदा कम्पनीको सेयर कारोबार मूल्य न्यूनतम २०२ रुपैयाँदेखि अधिकतम ८३८ रुपैयाँसम्म पुगेको थियो।
भव्य तथा सभ्य रूपमा सम्पन्न सभाले कम्पनीको नियमनकारी निकायहरू—विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बन्धित निकायहरूसँग आवश्यक कार्य गर्न तथा आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ।
कम्पनीको लेखापरीक्षकको प्रतिवेदनअनुसार सेयर पूँजी, सञ्चित नाफा तथा दीर्घकालीन ऋणसम्बन्धी विवरण वित्तीय विवरणमा स्पष्ट रूपमा समेटिएको छ। प्रतिवेदनमा कम्पनीको वित्तीय अवस्था सन्तोषजनक रहेको उल्लेख गरिएको छ।
अध्यक्षको मन्तव्यमा कम्पनीले समयमै आयोजना निर्माण सम्पन्न गरी नियमित विद्युत उत्पादन गरिरहेको, शेयरधनीलाई दीर्घकालीन प्रतिफल दिन प्रतिबद्ध रहेको तथा आगामी दिनमा थप जलविद्युत आयोजनामा लगानी विस्तार गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।
.
.





