फियन बचत तथा ऋण सहकारीको १५औँ साधारणसभा सम्पन्न, वित्तीय सूचकमा स्थिरता र जोखिम व्यवस्थापनमा जोड



फियन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा २०८२ पुस १५ गते मङगलबार काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष बासुदेव खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा संस्था अनुगमन उप–समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनहरूमा आर्थिक वर्ष २०८१/०८२ को अवधिमा संस्थाको वित्तीय अवस्था, कारोवार, जोखिम व्यवस्थापन र भावी रणनीतिबारे विस्तृत जानकारी दिइएको थियो।

लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल चुक्ता शेयर पूँजी ९४ लाख ५३ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा संस्थाले ४ करोड ८० लाख ४९ हजार ९०४ रुपैयाँ बचत संकलन गरेको छ भने ४ करोड ६६ लाख ४८ हजार २५६ रुपैयाँ कर्जा लगानी गरेको छ। त्यसैगरी संस्थाको नगद तथा बैंक मौज्दात १ करोड ४४ लाख ८७ हजार ०७१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

सभामा प्रस्तुत विवरणअनुसार संस्थाले कर्जा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै कर्जा लगानीको गुणस्तर सुधारमा ध्यान दिएको जनाएको छ। कुल कर्जा लगानीमध्ये सामान्य कर्जा, ध्यानयोग्य कर्जा, कमजोर कर्जा र खराब कर्जा वर्गीकरण गरी कर्जा जोखिम व्यवस्थापन गरिएको प्रतिवेदनमा उल्लेख छ। खराब कर्जातर्फ ९ लाख ६४ हजार रुपैयाँ व्यवस्थापन गरिएको जानकारी दिइयो।

संस्थाको वार्षिक साधारणसभाले सञ्चालक समिति तथा विभिन्न समितिबाट गरिएका निर्णयहरू अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि नीतिगत तथा कार्यक्रमगत कार्ययोजना समेत पारित गरेको छ।
सभामा अध्यक्ष दमकु श्रेष्ठले सहकारीलाई सुरक्षित, पारदर्शी र सदस्य–केन्द्रित रूपमा सञ्चालन गर्न सञ्चालक समिति प्रतिबद्ध रहेको बताउँदै सदस्यहरूको निरन्तर सहयोगले संस्थाको विश्वास र स्थायित्व मजबुत बन्दै गएको उल्लेख गर्नुभयो।

कार्यक्रममा विभिन्न समितिका पदाधिकारी, शेयर सदस्य तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार