सक्षम बचत तथा ऋण सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ — सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा पुस १० गते काठमाडौँको धुम्बाराहीस्थित नवदुर्गा बैंक्वेट हलमा भव्य रूपमा सम्पन्न भएको छ। बिहान ९ः३० बजेबाट सुरु भएको सभामा सहकारीका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

साधारण सभामा संस्थाकी अध्यक्ष सोनाम छ्योती शेर्पाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको आर्थिक अवस्था, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइन्। सभामा गत आर्थिक वर्षको आय–व्यय विवरण, नाफा–नोक्सान हिसाब, लेखा परीक्षण प्रतिवेदन, नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट लगायतका प्रस्तावहरूमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले पारित गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले ४ करोड ७ लाख ५६ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको र ३ करोड ७७ लाख ३ हजार रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरियो। यस अवधिमा संस्थाले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। साथै, सहकारीले सोही अवधिमा १७ लाख ३७ हजार रुपैयाँ सरकारलाई राजस्वस्वरूप योगदान गरेको जानकारी दिइयो।

सभामा सहकारी ऐन, नियमावली तथा सम्बन्धित निकायका निर्देशनहरू पूर्ण पालना गर्दै पारदर्शिता, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको थियो। लेखा परीक्षक नियुक्ति, कोष वितरण, विधान संशोधन तथा सम्भावित एकीकरणसम्बन्धी प्रस्तावहरू पनि सभाबाट अनुमोदन गरिएको छ।
साधारण सभामा सहभागी शेयर सदस्यहरूले सहकारीको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा संस्थालाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजान सुझावसमेत दिएका थिए।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार