शुभप्रभा सेभिङ एण्ड क्रेडिटको १६औँ साधारण सभा, आर्थिक सूचकमा उल्लेखनीय सुधार



काठमाडौं — शुभप्रभा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको १६औँ वार्षिक साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाको सञ्चालक समितिको निर्णयअनुसार २०८२ साल पुस १२ गते काठमाडौंस्थित नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा साधारण सभा आयोजना गरिएको हो।
साधारण सभामा संस्थाका अध्यक्ष विदुर बस्नेत, प्रमुख कार्यकारी निर्देशक, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी, विभिन्न उपसमितिका प्रतिनिधि, सेयर सदस्य तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा अध्यक्ष विदुर बस्नेतद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन पारित गरिएको छ। प्रतिवेदनमा संस्थाको १६औँ वर्षको अवधिमा हासिल गरिएका उपलब्धि, सामना गर्नुपरेका चुनौती तथा भावी कार्यदिशाबारे विस्तृत रूपमा उल्लेख गरिएको छ। अध्यक्ष बस्नेतले सहकारी केवल आर्थिक कारोबारमा सीमित संस्था नभई सामाजिक परिवर्तनको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा संस्थाले निरन्तर योगदान दिँदै आएको बताउनुभयो।
उहाँले पछिल्ला वर्षहरूमा देखिएको तरलता संकट, कर्जाको गुणस्तर सुधार, जोखिम व्यवस्थापन तथा सदस्यहरूको विश्वास कायम राख्न संस्थाले अवलम्बन गरेका सुधारात्मक कदमहरू प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभयो।
साधारण सभामा प्रमुख कार्यकारी निर्देशकको तर्फबाट प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ को वित्तीय अवस्था, प्रगति विवरण तथा आगामी योजना प्रस्तुत गरिएको थियो। प्रतिवेदनअनुसार सो अवधिमा संस्थाको सेयर पूँजी १० दशमलव ७० प्रतिशतले वृद्धि भएको छ भने कुल निक्षेप २९ दशमलव २७ प्रतिशत, कर्जा लगानी १९ दशमलव १६ प्रतिशत र कुल सम्पत्ति २० दशमलव ९५ प्रतिशतले वृद्धि भएको जनाइएको छ। साथै कर्जा असुलीलाई प्रभावकारी बनाउँदै सञ्चालन खर्च नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गरिएको प्रतिवेदनमा उल्लेख छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, आय–व्यय विवरण, नाफा–नोक्सान हिसाब तथा कोष व्यवस्थापनसम्बन्धी प्रस्तावहरू छलफल गरी पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ।
यस्तै, सदस्यहरूलाई सहज, सरल र सुरक्षित वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले संस्थाले शुभप्रभा स्मार्ट एप, डेबिट कार्ड (एटीएम), क्यूआर स्क्यान तथा पे र कनेक्ट आईपीएसजस्ता डिजिटल सेवाहरू सञ्चालनमा ल्याएको जानकारी पनि सभामा दिइयो।
सभामा वक्ताहरूले सहकारी क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थाबीच पनि शुभप्रभा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले पारदर्शिता, सुशासन र सदस्य हितलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको उल्लेख गरे। आगामी दिनमा कर्जा व्यवस्थापन, निक्षेप सुरक्षाको सुनिश्चितता तथा सेवा विस्तारमा थप ध्यान दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
सभाको अन्त्यमा संस्थाको निरन्तर प्रगतिमा योगदान पुर्‍याउने सेयर सदस्य, कर्मचारी, सल्लाहकार, उपसमिति तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार