७ बुँदे सहमतिपछि रास्वपा-बालेन समर्थक उत्साहित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएपछि दुवै पक्षका समर्थक उत्साहित भएका छन्। नयाँ र वैकल्पिक शक्तिहरूबीचको एकताले परिवर्तनलाई संस्थागत गर्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

सहमतिपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले यो सहमति नेताको चाहनाभन्दा देशको आवश्यकताअनुसार भएको बताएका छन्। लामो छलफलपछि मध्यराति सहमतिमा हस्ताक्षर भएको हो।

सहमति अनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, चुनाव चिन्ह ‘घण्टी’ हुने, सभापति रवि लामिछाने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह हुने तय भएको छ।

यसअघि उज्यालो नेपाल पार्टीलाई समेत समेटेर एकताको प्रयास भए पनि संरक्षक कुलमान घिसिङले पार्टीको अस्तित्वको विषय उठाउँदै असहमति जनाएपछि उक्त प्रयास अघि बढ्न सकेको थिएन। कुलमानको असहमतिपछि रवि र बालेनबीच भएको छलफलले अन्ततः सात बुँदे सहमति टुंगो लगाएको हो।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार