शिक्षकलाई गाउँपालिका अध्यक्षको कडा चेतावनी : छोराछोरी जसरी नपढाउने भए जागिर छाडिदिनुस्



काठमाडौं । पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले विद्यार्थीलाई आफ्नै छोराछोरीसरह नपढाउने शिक्षकलाई पेसाबाट बिदा लिन आग्रह गरेका छन्। गाउँपालिकाअन्तर्गत एक विद्यालयको अनुगमनका क्रममा उनले तयारीबिनै कक्षा लिने र अध्यापनमा गम्भीर नहुने प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष भुसालले शिक्षकहरूलाई राज्यको तलब–भत्ता खाएर जिम्मेवारी पूरा नगर्नु अपराधसरह भएको टिप्पणी गर्दै पाठयोजना बनाएर, शैक्षिक सामग्री प्रयोग गरी र शिक्षक निर्देशिकाअनुसार दैनिक कक्षा लिन निर्देशन दिए। घरमा तयारी नगरी विद्यालय आएर मात्रै पढाउँदा शैक्षिक नतिजा कमजोर हुने उनको भनाइ छ।

शिक्षक स्तरमापन परीक्षामा देखिएको कमजोरीको मुख्य कारण स्वयं शिक्षककै जाँगर र प्रतिबद्धताको अभाव भएको अध्यक्ष भुसालले बताए। उनले विद्यार्थी फेल हुँदा त्यसलाई आफ्नै छोराछोरी असफल भएको रूपमा बुझेर जिम्मेवारी लिनुपर्नेमा जोड दिए।

अध्यक्ष भुसालको उक्त अभिव्यक्तिप्रति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समर्थन जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले पालिका अध्यक्ष वा मेयर यत्तिकै कडा नभएसम्म विद्यालय शिक्षामा गुणात्मक सुधार आउन नसक्ने उल्लेख गर्दै प्रधानाध्यापक पनि इमानदार र शिक्षामा समर्पित हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार