आईसीएफसी फाइनान्सको साधारणसभाबाट १५ प्रतिशत नगद लाभांश अनुमोदन



काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको २२औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

सभामा कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणमाथि विस्तृत छलफल गर्दै अनुमोदन गरिएको थियो। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँभन्दा बढी रहेको छ। आईसीएफसी फाइनान्सले देशभर २२ वटा शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। कम्पनीले एक लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ।

संस्थाका अनुसार हालसम्म २१ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन तथा १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ। डिजिटल बैंकिङ सेवा विस्तार र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीले आगामी दिनमा थप सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

सभामा अध्यक्ष तथा सञ्चालकहरूले वित्तीय क्षेत्रको चुनौतीपूर्ण अवस्थाबीच पनि कम्पनीले सन्तुलित प्रगति गर्न सफल भएको उल्लेख गर्दै शेयरधनीको विश्वास नै संस्थाको मुख्य शक्ति भएको बताएका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार