भुगर्भ र्सिमेन्टको ७औँ वार्षिक साधारणसभा सम्पन्न, उत्पादन विस्तार र वित्तीय सुदृढीकरणमा जोड



काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडको ७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले कम्पनीको आर्थिक अवस्था, उत्पादन क्षमता विस्तार, वित्तीय व्यवस्थापन तथा भविष्यका रणनीतिमाथि छलफल गर्दै विभिन्न प्रस्तावहरू पारित गरेको छ।

पश्चिम नेपालको अग्रणी तथा स्थापित सिमेन्ट उद्योगका रूपमा परिचित भुगर्भ र्सिमेन्टले ओपीसी र पीपीसी दुवै प्रकारका गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ। हाल कम्पनीको क्लिङ्कर उत्पादन क्षमता प्रतिदिन ३०० मेट्रिक टन तथा सिमेन्ट उत्पादन क्षमता प्रतिदिन ५०० मेट्रिक टन रहेको छ। आवश्यक कच्चा पदार्थ आफ्नै खानी–खनिज स्रोतबाट प्राप्त गर्दै आएको कम्पनीले दीर्घकालीन उत्पादन स्थायित्वमा जोड दिएको जनाएको छ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरमा रहेको छ भने उत्पादन प्लान्ट नवलपरासी जिल्लाको सुनवल नगरपालिका–६ मा अवस्थित छ। स्थापना कालदेखि नै गुणस्तरीय, भरपर्दो र किफायती सिमेन्ट उपलब्ध गराउँदै आएको भुर्गा सिमेन्टले निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणमाथि विस्तृत छलफल गरिएको थियो। साथै, कम्पनीले उत्पादन क्षमता वृद्धि, लागत नियन्त्रण, वित्तीय अनुशासन र बजार विस्तारलाई आगामी प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ।

भुगर्भ र्सिमेन्टले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आएको उल्लेख गर्दै स्थानीय स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा स्थानीय विकासका क्षेत्रमा समेत निरन्तर सहयोग गर्दै आएको जानकारी गराइएको छ।

सभाको अन्त्यमा कम्पनी व्यवस्थापनले आगामी दिनमा अझ आधुनिक प्रविधिको प्रयोग, गुणस्तर अभिवृद्धि र प्रतिस्पर्धात्मक बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्यसहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार