काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को उन्नाइसौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सोमबार आयोजित साधारणसभाले शेयरधनीहरूलाई बैंकको चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस शेयर तथा ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको बैंकले जनाएको छ।
उक्त साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित कुल ९ जना वक्ताहरूले बैंकको वित्तीय अवस्था, उपलब्धि तथा आगामी कार्यदिशाबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
साधारणसभामा बैंक सञ्चालक समितिका सदस्यहरू सेवन्तक पोखरेल, डा. हरि बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल, विनोद कुमार गुरागाँई, रीता सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गर्नुभएको थियो।
सभामा बैंकको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा भावी योजना सम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल गरी पारित गरिएको बैंकले जानकारी दिएको छ।





