काठमाडौं। गोरखा जिल्लाको धार्चे गाउँपालिका–२ स्थित गण्डकी माध्यमिक विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई समुदायले अनौठो र सम्मानजनक शैलीमा बिदाइ गरेको छ। ३६ वर्ष ८ महिना २२ दिन शिक्षण सेवामा बिताएका उपरकोटीलाई मंगलबार हेलिकप्टरमार्फत बिदाइ गरिएको विद्यालयका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए।

विद्यालय स्थापनाकालदेखि नै सेवा गर्दै आएका उपरकोटीलाई भूतपूर्व विद्यार्थी, अभिभावक र स्थानीय समुदायले विशेष सम्मानस्वरूप हेलिकप्टरमा चढाएर काठमाडौँ पठाएको हो। विद्यालयलाई कक्षा ३ देखि १० सम्म विस्तार गर्न उपरकोटीले महत्वपूर्ण योगदान गरेका थिए।
गुरुङका अनुसार उपरकोटीको शिक्षा क्षेत्रमा रहेको दीर्घ योगदानका कारण समुदायले ऐतिहासिक सम्मानको रूपमा यस्तो बिदाइको व्यवस्था गरेको हो। हेलिकप्टरबाट काठमाडौँसम्म र त्यहाँबाट विमानमार्फत चितवन पुर्याइने व्यवस्था गरिएको थियो। बिदाइ कार्यक्रममा करिब २ लाख ५ हजार खर्च भएको जनाइएको छ।

चितवनको भरतपुरमा बसोबास गर्दै आएका उपरकोटीले आफूले प्राप्त गरेको सम्मान जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताए। “समुदायले गरेको सम्मानको गुण तिर्न सक्दिनँ,” उनले भने। मंसिर १० गते राजीनामा स्वीकृत भएको दुई दिनपछि मात्र हेलिकप्टरबाट बिदाइको तयारीबारे आफूले थाहा पाएको पनि उपरकोटीले बताए।
प्रधानाध्यापक बनेपछि विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार भएको थियो। दुर्गम क्षेत्रको विद्यालय भए पनि नमुना विद्यालयको पुरस्कार पाउनुमा उपरकोटीको नेतृत्व महत्वपूर्ण रहेको समुदायको मूल्यांकन छ। उनले यो सम्मानले नयाँ पुस्तालाई शिक्षक पेशातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।






