ललितपुरमा शिक्षक हित बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थीदेखि ज्येष्ठ सदस्यसम्म सम्मानित



ललितपुर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा जावलाखेलमा सम्पन्न गरेको छ। ललितपुर महानगरपालिका–१७, त्यागलस्थित मुख्य कार्यालय रहेको सहकारीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्दै साधारणसभा सम्पन्न गरेको हो।

यस वर्षको साधारणसभामा सहकारीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी, वरिष्ठ सेयर सदस्य तथा उच्च शिक्षा (एमफिल) पूरा गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको छ।
कक्षा १० (एसईई) र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने ३१ जना विद्यार्थी, साथै ३४ जना ज्येष्ठ सदस्य, र ६ जना एमफिल स्नातकलाई सम्मान गरिएको छ। बालबचतकर्तालाई पनि सभामै पुरस्कृत गरिएको सहकारीले जनाएको छ।

सेयर पूँजी र सदस्य संख्या उल्लेख्य वृद्धि

वि.सं. २०६५ मा ६ लाख ५० हजार सेयर पूँजीबाट सुरु भएको सहकारीको सेयर पूँजी २०८०/८१ मा ३ करोड ७९ लाख ७५ हजार पुगेको छ। चालु आर्थिक वर्षमा यो रकम ३ करोड ९९ लाख ७५ हजार पुर्‍याउने लक्ष्य लिइएको छ।
आरम्भमा ६५ सदस्यबाट सुरु भएको संस्था अहिले १,९०४ सेयर सदस्यको पहुँचमा पुगेको छ।

अध्यक्ष शुक्र थापाले प्रस्तुत गरिएको प्रतिवेदन अनुसार आव २०८०/८१ मा सहकारीले

७१ करोड ५१ लाख १७ हजार ७८३ रुपैयाँ वित्तीय कारोबार,

२८ करोड ५९ लाख २ हजार ६६४ रुपैयाँ बचत मौज्दात,

२४ करोड ४६ लाख ६० हजार १६४ रुपैयाँ कर्जा लगानी तथा

९१ लाख ६६ हजार २ सय रुपैयाँ खुद मुनाफा हासिल गरेको छ।

सहकारीले साधारण, विशेष, बाल, मुद्दती, ज्येष्ठ नागरिक, स्वास्थ्य हित, कर्मचारी हित, विपद् व्यवस्थापनलगायत ११ प्रकारका बचत योजनाहरू सञ्चालन गर्दै ५% देखि १३% सम्म ब्याज उपलब्ध गराउँदै आएको छ। कर्जातर्फ धितो जमानत, सामूहिक जमानत, घर निर्माण, शैक्षिक, सहुलियत, हायर पर्चेज लगायतका कर्जा योजनाहरू १०%–१२% ब्याजदरमा प्रदान गरिँदै आएको छ।

सहकारी क्षेत्रमा पारदर्शिता र विश्वासको आवश्यकता

प्रमुख अतिथि सभामुख घिमिरेले सहकारी क्षेत्रमा बढ्दो अनियमितताबारे चिन्ता व्यक्त गर्दै सहकारी सिद्धान्तअनुसार पारदर्शिता र उत्तरदायित्वका साथ सेवा प्रवाह गर्न आग्रह गरे।
“समाजका कमजोर वर्गका लागि सहकारी प्रभावकारी माध्यम बन्न सक्छ। खासगरी शिक्षकहरूलाई लक्षित गरी संचालित यो सहकारीले देशभर उदाहरण प्रस्तुत गरेको छ,” सभामुखले भने।

उनले शिक्षा क्षेत्रमा देखिएको राजनीतिक विभाजनले अपेक्षित प्रगति रोकिएको बताउँदै शिक्षकहरू एकजुट भएर समाज रूपान्तरणमा सक्रिय हुनुपर्नेमा जोड दिए।
साथै, विद्यालय शिक्षा विधेयकमा प्रस्तुत १८ सयभन्दा बढी संशोधनबारे संसदीय समितिमा गहन छलफल भइरहेको जानकारी पनि उनले दिएको छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार