काठमाडौं । सुन–चाँदी तथा बहुमूल्य धातु कारोबार गर्ने व्यवसायीलाई अब बेनामी नाम र व्यक्तिगत खाताबाट कारोबार गर्न नपाइने भएको छ। आन्तरिक राजस्व विभागले सम्पत्ति शुद्धीकरण रोकथामका लागि नयाँ निर्देशन जारी गर्दै सबै कारोबार व्यावसायिक बैंक खातामार्फत मात्र गर्न अनिवार्य गरेको हो।
निर्देशनअनुसार एकैपटक १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका धातु खरिद–बिक्री गर्दा ग्राहकको बैंक खाताबाटै भुक्तानी लिनुपर्नेछ। व्यक्तिगत, परिवार वा तेस्रो व्यक्तिको बैंक खाता प्रयोग गर्न प्रतिबन्ध गरिएको छ।
निर्देशन उल्लंघन भए एक करोड रुपैयाँसम्म जरिवाना र कानुनी कारबाही हुने चेतावनी विभागले दिएको छ।
उच्च पदस्थ व्यक्ति तथा जोखिमयुक्त ग्राहकको पहिचान, शंकास्पद कारोबारको निगरानी, वास्तविक धनी (beneficial owner) को पहिचान र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विवरण सुरक्षित राख्ने व्यवस्था पनि व्यवसायीले अनिवार्यतः गर्नुपर्नेछ।
एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिरिन सरकारले अघि सारेको कार्ययोजनाअनुसार विभागले पुरानो निर्देशन संशोधन गरी यो थप कडाइ सहितको निर्देशन जारी गरेको हो।





