एनपिएलमा आज दुई खेल: विराटनगर-सुदूरपश्चिम र चितवन-पोखरा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। पहिलो खेल बिहान सवा ११ बजे र दोस्रो खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।

पहिलो खेल : विराटनगर-सुदूरपश्चिम
पहिलो खेलमा प्लेअफ यात्रा सुनिश्चित गरिसकेका विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। १२ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा छ र उसले क्वालिफायर खेल्ने सुनिश्चित भइसकेको छ। विराटनगर ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

विराटनगरले आजको खेल ठूलो अन्तरले जितेमा क्वालिफायरमा उक्लने सम्भावना छ। यदि त्यो नहुँदा, विराटनगरले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्नेछ। इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल स्थानका लागि भिड्नेछ।

दोस्रो खेल : चितवन राइनोज्-पोखरा एभेन्जर्स
दोस्रो खेलमा चितवन राइनोज् र पोखरा एभेन्जर्स भिड्दै छन्। दुवै टिम प्लेअफ दौडबाट बाहिरिसकेका छन्। प्रतियोगितामा २/२ खेल जितेका पोखरा र चितवन क्रमशः पाँचौं र छैटौं स्थानमा छन्। आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार