विद्यालय कर्मचारीको तलब-सुविधाबारे अर्थमन्त्री सकारात्मक



काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीको तलब, ग्रेड, अवकाशपछिका सुविधा तथा स्थानीय भत्ता व्यवस्थापन सम्बन्धमा अर्थमन्त्री रामेश्वर खनाल सकारात्मक देखिएका छन्।

नेपाल शिक्षक महासंघ, राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार मंगलबार महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री खनालसँग भेट गरी ९ बुँदे सहमति कार्यान्वयनबारे ध्यानाकर्षण गराएको थियो। गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच भएको ९ बुँदे सहमति सोही दिन मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो।

सुवेदीले सहमति कार्यान्वयन, शिक्षकको ग्रेड र तलब समायोजन तथा स्थानीय भत्ताको व्यवस्थाबारे अर्थमन्त्रीसँग गम्भीर छलफल भएको बताए। बैठकमा उठाइएका मागबारे अर्थमन्त्री खनालले सकारात्मक प्रतिक्रिया दिएको सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार