काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले युवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। बैंकले उत्कृष्ट र आधुनिक सेवा सुविधा प्रदान गर्ने उद्देश्यसहित नवयुवाको जीवनशैलीअनुकूल वित्तीय समाधान उपलब्ध गराउन यो नयाँ खाता सार्वजनिक गरेको हो।

मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त बचत खाता औपचारिक रुपमा सुरु गरेका छन्।
बैंकका अनुसार जेन–जी सेभिङ अकाउन्टले विद्यार्थी, फ्रीलान्सर, कंटेन्ट क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा क्रियाशील युवालाई लक्षित गरी सरल, सहज र डिजिटलमैत्री बैंकिङ सेवा प्रदान गर्नेछ।
यस बचत खातामा न्यूनतम एक सय रुपैयाँमै खाता खोल्न सकिने र वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। साथै, युवा ग्राहकलाई प्रोत्साहन गर्न चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ।
डिजिटल सेवामा पहुँच बढाउन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ सहितका चारै सेवा एकैपटक उपलब्ध गराएमा मात्र ५०० रुपैयाँमा उपलब्ध हुने बन्डल्ड सुविधा पनि प्रदान गरेको छ।
सिटिजन्स बैंकले युवा पुस्तालाई डिजिटल तथा उद्यमशीलतामुखी बनाउने लक्ष्यसहित आगामी दिनमा अझ बढी नवप्रवर्तनशील वित्तीय सेवा ल्याइने जनाएको छ।





