एनपीएलमा आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुने भएका छन्। पहिलो खेल बिहान ११:१५ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ।

चारै टोली पहिलो पटक एक–आपसमा भिड्न लागेका छन्। यो सिजनमा एक खेल गुमाइसकेको जनकपुरको यो दोस्रो खेल हो। उद्घाटनमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो। त्यसैले आज उसले जित निकाल्ने लक्ष्य राखेको छ। विराटनगर भने उत्कृष्ट लयमा रहेको टोली हो। उसले यसअघि पोखरा र काठमाण्डुलाई पराजित गरिसकेको छ।

दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ। कर्णालीले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने सुदूरपश्चिम लगातार तीन खेलमा जित हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। यसअघि सुदूरपश्चिमले काठमाण्डु र पोखरालाई हराइसकेको छ भने कर्णालीले लुम्बिनीविरुद्ध जित निकालेको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार