ललितपुर । गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा सोमबार महालक्ष्मीस्थानमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाको सभापतित्वमा सम्पन्न सभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले गणेशमान सिंह मेमोरियल हस्पिटलका शेयर खरिद–बिक्री, सहकारीको आगामी निर्वाचन सम्बन्धी व्यवस्था, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्तावहरू पनि अनुमोदन गरेको छ।
शेयरपूँजी १० करोड ९० लाख, कुल लगानी १३ करोड २० लाख नाघ्यो
सभामा प्रस्तुत वासलात अनुसार सहकारीको शेयर पूँजी १० करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ। बचत तथा निक्षेप ३ करोड ५२ लाख ५५ हजार ५४२ रुपैयाँ रहेको छ भने कुल लगानी १३ करोड २० लाख ९९ हजार १०० रुपैयाँ रहेको छ। स्वास्थ्य सेवा क्षेत्र लक्षित सहकारीले सदस्यहरूलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमार्फत विभिन्न स्वास्थ्य सेवा तथा छुट सुविधा प्रदान गर्दै आएको छ।

दीपक प्रकाश बाँस्कोटा पुनः अध्यक्ष
साधारणसभाले आगामी कार्यकालका लागि दीपक प्रकाश बाँस्कोटालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। साथै अन्य सञ्चालक समिति सदस्य, लेखा समिति संयोजक तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ।
कार्यक्रममा सहकारीकर्मी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष बाँस्कोटाले सहभागीहरूको जिज्ञासाको उत्तर दिंदै सहकारीलाई गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी व्यवस्थापन र संस्थागत सुदृढीकरणमार्फत अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य सेवामा पहुँच विस्तारमै प्राथमिकता
सहकारीले समुदायमा आधारभूतदेखि विशिष्ट स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य सजगता कार्यक्रम, नियमित स्वास्थ्य परीक्षण, वरिष्ठ नागरिक सेवा, मातृ–शिशु स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्यसम्बन्धी तालिम र स्रोत–साधन विस्तारलाई प्राथमिकतामा राख्दै आएको प्रबन्ध निर्देशकले जानकारी दिए।
विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमसहित सम्पन्न वार्षिक साधारणसभाले सहकारीलाई आगामी वर्षहरूमा थप प्रभावकारी रूपमै अघि बढाउने लक्ष्य राखेको संस्थाले जनाएको छ।





