नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि, बोर्डले न्युनतम मूल्य यथावत् राख्यो



काठमाडौं । नेपालमा कफी उत्पादन २८ प्रतिशतले बढेको छ। २१औँ राष्ट्रिय कफी दिवसका अवसरमा सोमवार आयोजित कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिएको हो।

बोर्डका कृषि विकास अधिकृत गौरव लुईटेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ६४१.९ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५०१.३ मेट्रिक टन मात्र उत्पादन भएको थियो। पछिल्ला पाँच वर्षयता कफीको रोपाइँ क्षेत्र र उत्पादन दुवै निरन्तर बढ्दो क्रममा रहेको उनले बताए।

यद्यपि, बढ्दो मागका तुलनामा उत्पादन अझै पर्याप्त नभएको लुईटेलले बताए। कफी उपभोग शहरी क्षेत्रमा तीव्र रूपमा बढ्दै जाँदा आन्तरिक माग पूरा गर्न उत्पादन विस्तार अपरिहार्य बनेको छ।

यसैबीच, बोर्डले सोमवारदेखि लागू हुनेगरी कच्चा कफीको न्युनतम मूल्य पनि तोकेको छ। गत वर्षकै दर कायम गरिएको मूल्यअनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को मूल्य प्रति किलो १०५ रुपैयाँ र ग्रेड ‘बी’ को मूल्य प्रति किलो ९५ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार