काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ अन्तर्गत आज दुई वटा खेल हुँदैछन्। पहिलो खेल पौने १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच निर्धारित छ। त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ।
बहुप्रतिक्षित एनपीएलको दोस्रो संस्करण हिजोबाट सुरु भएको हो। उद्घाटन खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै भेटायो।
टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन जोडेका थिए।
यसैगरी, प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ। एनपीएलमा जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टिम सहभागी छन्।





