काठमाडौँ । कदर बचत तथा ऋण सहकारी संस्थाले १६औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँमा सम्पन्न गरेको छ। सभामा संस्थाका शेयर सदस्यलाई २.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिएको अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए।
कार्यक्रममा अध्यक्ष शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष होमबहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन प्रस्तुत गरे। उपाध्यक्ष सूर्यतेज शाक्यले कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गरेका थिए।

संस्थाको शेयर पूँजी आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा १ लाख २८ हजारले वृद्धि भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै सोही अवधिमा सहकारीको निक्षेप सङ्कलन ४० लाखले घटेको संक्षिप्त आर्थिक विवरणमा देखाइएको छ।
सभामा नेस. ११४५ मिस नेवा आइकन रोजिका बज्राचार्यलाई विशेष सम्मान गरिएको थियो। साथै, संस्थाका सदस्यका आठ जना एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिएको छ।
कार्यक्रममा कार्यकारी प्रमुख बलराम डंगोलले सहकारीका विभिन्न पक्षबारे प्रकाश पार्दै सदस्यहरूले उठाएका प्रश्नहरूको उत्तर दिए। अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।





